चार बर्षपछि अचानक ऊ मेरो अगाडि देखापरी। निको भइ सकेको घाउ फेरि बल्झियो। मेरा गोडा टक्क अडिए। उसलाइ हेर्दिन भन्दा पनि आँखा मानेनन्, ऊ तिरै तन्किए। मेरो दिमाग शून्य भयो। फर्किएर अर्कातिर हिँडौँ कि नदेखे झैँ अगाडि बढौँ! म अलमलिएँ। उसलाइ मैले बिर्सीसकेको थिएँ। अँ! कहिलेकाहिँ रक्सी पिएको बेला भने याद आउँथ्यो। कहिलेकाहिँ त संगै पिउने साथिलाइ उसको बारेमा सुनाउँदै रोएको पनि छु म। उसले रातो सारी अनि टिमिक्क कसिएको पहेँलो रंगको ब्लाउज लगाएकि छे। उसका गलामा भरिभराउ सुनका गहना टल्केका छन्। उसले लगाएको मंगलसुत्र नै दुई तोलाको त हुँदो हो। मेरि आमाको भन्दा दोब्बर नै ठुलो! त्यो पनि बा’को दुई महिनाको तलब जम्मै हालेर किनेको, उहिल्यै।

उसले हातमा पनि केही काँसका चुरा संगै सुनकै चुरा लगाएकी छे। उसको शरीर पहिले भन्दा केही मोटो भएको छ तर पनि ऊ उस्तै सुन्दर देखिएकी छे। उसलाइ देखेर सजिलै अन्दाज लगाउन सकिन्छ ऊ खान्दानी परिवारकी बुहारी हो। हुनत साइँली काकिले म अरबमा भएको बेला नै फोनमा भन्नू भएको थियो “संगितेले चाहिँ साँच्चै गतिलो केटो भेट्टाइ। सुनैसुनले पुरेर लग्यो। इन्जिन्यर रे केटोपनि!” मैले वास्ता नगरे झैँ गरेको थिएँ। अनि फोन राखेपछी मुर्मुरिएको थिएँ। मलाइ रिस उठेको थियो, चिच्याउँदै रुन मन लागेको थियो।तर चिच्याउँदै रुन नमिलेपछी बाथरुममा गएर नुवाउँदै आँसु बगाएको थिएँ पानी संगै।

उसले पनि मलाइ देखि। ऊ पनि सुरुमा अलमलिई अनि एक पटक सिर निहुराएर भुइँमा हेरि। फेरि हतारिँदैँ शिर उठाएर मलाइ हेर्दै मुस्कुराइ। उसको मुस्कान पहिले झैँ सुहाउँदीलो भने कतै देखिएन। मलाइ के बोल्ने भन्ने मेसो आएन। टाउको चड्कियो, रिंगटा लाग्ला झैँ भयो। म ठिँग उभिएरै उसलाइ हेरेर जबरजस्ती मुस्कुराएँ। सायद मेरा ओठमा पनि मुस्कान सुहाएन। उसैले बोलाइ “तिमी कहिले आयौ?”उसले मलाइ ‘तिमी’ भनेर बोलाउँदा म अकमकिएँ। मलाइ अफ्ठेरो महसुस भयो। पहिले हामिबिच तँ तँं र म म चल्थ्यो। ऊ मलाइ कहिले बहुला, कहिले बांदर, कहिले च्याँसे त कहिले केके भन्थी भन्थी। मैले पनि उसलाइ बोलाउने नानाथरी नाम थिए, झ्याउँकीरी, रुप्पी, बाँदर्नी, डल्ली अरु केके केके!

मैले हडबडाउँदै बोलेँ “एक मैना भो!” “अनि अब कहिले जाने? कि नजाने ?” “अर्को महिना फर्कन्छु।” “बिदेश बसेर पनि मोटाएनछौ त। उस्तै छौ!” “अँ उस्तै छु। जस्ताको तस्तै। तिमी जस्तो बद्लिन सकिन।” मैले रुखो बोली बोलेँ। उसको अनुहार लत्रीयो। पानी झर्नै लाग्या आकास झैँ धुम्मियो। उ केही नबोली ठिंग उभिइ राखी। मैले नै बोलेँ ” अनि इन्जिनियर सा’ब आउनु भएन?” “तिजमा शसुराली काँ आउनु त। कसरी थाहा भो इन्जिनियर भनेर?” उसको अनुहार केही उज्यालो भयो, हँसिलो भने हैन।”

“थाहा भैहाल्छ नि! इन्जिइयर संग बिहे गरेसी बखान सुनाइहाल्छन् नि गाउँमा, अरपे संग गर्या भएपो कसैले वास्ता गर्दैनन् त।” मैले ऊ संग नजर जुधाएर बोलेँ। उसको अनुहार झनै कालो भयो। आँखा टिलपिल भरिए झैँ देखिए। उसले नजर झुकाइ अनि झिनो स्वरमा बोली “बरु हान्न च्याँसे किन यसरी भन्छस्?” “उसले पहिले झैँ ‘तँ’ अनि ‘च्याँसे’ भन्दा मेरो मुटु सिरिङ्ग भयो। खुट्टा लुला भए। मैले अकमकाउँदै बोलेँ “तँ….तँलाइ अब हात लगाउने त अधिकार कहाँ रह्यो र झ्याउँकिरी!”

उसले नजर उठाएर मलाइ हेरि। उसका आँखाका डिलबाट एक थोप्पो आँशुको डल्लो पिर्लिक्क गालामा झर्यो। उसले उल्टा हातले आँशु पुछ्दै मुस्कुराए झैँ गरि अनि सानो स्वरमा बोली “माफ गर्दे है प्लिज!” “किन माफ? केको लागि?” ऊ केही नबोली भुइँतिर हेर्दै अगाडि बढी। मैले पछाडिबाट बिस्तारै बोलेँ “तँलाइ रोएको सुहाउँदैन।” उसले पछाडी फर्केर हेरिन। लगालग पाइला चालिरही। म बिदेश जाने भनेपछी ऊ पहिलो पल्ट रोएको सुनेको थिएँ मैले। ऊसले फोनमा रुँदै भनेकी थिइ “तँ गएपछी कसरी बस्नु बाँदर म?”

“दुई बर्ष त हो नि डल्ली। फर्केपछि बिहे गर्नपर्छ। अलिअली पैसा पनि हुन्छ। अनि संगै केही गरेर बसौँला नि।” मैले उसलाइ सम्झाएको थिएँ। “मलाइ बिर्सिस् भनेनी त?” “बिर्सन्छु जस्तो लाग्छ?” “के था! सेक्सी सेक्सी बिदेशी केटि संग लागेर माया मार्ने होस् कि।” ऊ रुँदारुँदै हाँसी। “तँ नै यति सेक्सी भएसी किन लाग्नु पर्यो अरु संग? झ्याउँकिरी!” म हाँसिदिएँ। “लु भो! छैन है म सेक्सी!” ऊ बाउँठिइ।

“मलाइ त सेक्सी लाग्छ त।” “झन् नभन् भन्दैछु है। यति राम्री मान्छेलाई सेक्सी पो रे। छि!” उसले खित्का छोडी। “अनि त्यही राम्री भएर त सेक्सि भनेको नि झ्याउँकुरी।” म हाँसेँ। “अनि राम्री भन्न त किन सेक्सि भन्नू।” “उस्तै त होनि अनि।” “हैन है उस्तै। अब मलाइ सेक्सि नभन्। नत्र…!” उसले घुर्क्याउँदै थर्काइ। “नत्र के? फेरि रोइदिन्छेस्?” मैले जिस्काएँ। “रुन्छु त अनि च्याँसेँ।” “भयो नरो। तँलाइ रोएको सुहाउँदैन झ्याउँकिरी।” म बिदेश हिँड्ने केहिदिन अघि ऊ घरमा नै आइ। आमा बाहिर बरण्डामा नै हुनुहुन्थ्यो। आउने बित्तिकै आमालाइ सोधी “च्याँसेँ बिदेश जान्छ रे हो आन्टी?” “अँ जान्छ होलानी अब। भिस्सा लाग्यो रे भन्छन्।” आमाले लामो सास फेर्दै बोल्नु भयो। “एउटा भएको छोरो किन बिदेश पठाउन पर्यो नि अनि?” उसले मुख फुलाउँदै बोली।

“क्यार्नु त हौ संगिते। पढाइ छोडी हाल्यो। याँ जागिर पाउँदैन। अब ब्या गर्ने उमेर पनि हुन लागि सक्यो। हामी पनि बुढा भइम्। अब कमाएर पाल्न पर्दैन त त्यसले?” रुवाको बाती बटार्दै आमा बोल्नु भयो। उसको अनुहार अलिकती अध्याँरियो। म भित्र कोठाको झ्यालबाट चुपचाप हेरिरहेँ। “उतै एउटि खैरेनी ब्या गरेर बस्ला अनि बिजोग होला बुढेसकालमा।” उसले दाँत देखाउँदै खित्का छोडी। “अब बाउआमा माया मारेर बस्छ उतै भनेनी बसोस् न त। बाउको पेन्सन आउँछ त्यही खाँदै काल कुर्दै बस्छौँ नि हामी बुढाबुढी।” आमा नसुहाउँदो हाँसो हांस्नु भयो। आमाको हाँसो पहिले झैँ खुलेको नदेखेसी ऊ लत्रीइ।

“चिन्ता नलिनु के आन्टी। त्यो च्याँसे बाँदरको अनुहार नि हुन पर्यो नि खैरेनीले पत्याउने।” ऊसले निँच्च दाँत देखाइ। “के भनिस् रे झ्याउँकिरी? तेरो अनुहार चाहिँ खुब राम्रो छ हैन?” मैले झ्याल भित्रबाट चिच्याएँ। मैले पनि सुनेकू थाहा पाएर ऊ मुर्छा पर्ने गरि हाँसी। आमा पनि हाँस्नु भयो। “अनि के त? त्यही बाँदर जस्तो अनुहारले खैरेनी पटिन्छन् त?” उसले हाँस्दै बोली। म जुरुक्क उठेर बाहिर आएँ अनि उसको पाखुरामा मज्जाले चिमोटेर बोलेँ “तँ खुबै राम्री छेस्, झ्याउँकिरी! हाम्रो भैँसि पनि तँ भन्दा त अलिक राम्रो छ बुझिस्।”

मैले चिमोटेको उसको पाखुरो रातो भयो। उ रन्थनिएर उठि अनि मलाइ झम्टिँदै कराइ “मरिस् च्याँसे अब। घाउ हुनेगरी पो चिमोट्छ त!” म भित्र भागेँ। उसले मलाइ खेदाइ। आमाले बाहिरै बाट कराउनु भयो “कुकुर र बिरालै रैछौ तीमारु त। कति झगडा गर्न सकेका।” म भाग्दै कोठा भित्र पसेर ढोका लगाउन खोजेँ। उसले जबर्जस्ति ठेली। मैले धेरै बल गरिन। ऊ भित्रै पसि। “घाउ नै हुने गरि चिमोट्न पर्छ?” उसले रिसाउँदै मलाइ चिमोट्न खोजी। मैले उसको कम्मरमा पकडेर भित्तामा टँसाएँ। उसको छातिमा छाती टाँसियो अनि ऊ भित्तामा चेपिइ। उसको शरीर ओइलियो। उसले बल गर्न छोडी। मैले बिस्तारै बोलेँ “अनि मेरो अनुहारलाइ कसैले पत्याउँदैन रे?”

“अनि कसले पत्याउँछ त?” उसले मुख फुलाइ। “तैंले पत्याएकी छस् त।” मैले उसको कम्मर जोडले अँठ्याँएँ। “छैन मैले पत्याएको।” उसले सासले बोली। मैले उसाको गालामा मुख लगेर बिस्तारै टोकिदिएँ। उसका गालामा हलुका दाँतको छाप बस्यो। “बोक्सा।” उसले उसैगरी सासले बोली। मैले झनै जोडले उसलाइ भित्तामा चेप्दै उसका ओठमा आफ्ना ओठ खप्ट्याइदिएँ। बिस्तारै उसका ओठहरु चलमलाए। मेरो तल्लो ओठ उसका ओठका बिचमा हरायो। दुबैका आँखा बन्द भए। उसको छाती झनै जोडले तलमाथी गर्न थाल्यो। उसका पनि हातहरु मेरो कम्मरमा बाँधिए।

“ए संगिता! च्या पकान हौ खाउँ। के गर्छौ तिमारु भित्र?” बाहिरबाट आमाको आवाज आयो। हामी दुबैजना होसमा आयौँ। उसले मेरो ओठ दुख्ने गरि टोकिदिइ अनि हाँस्दै मलाइ धकेलेर बाहिर बाहिर निस्किइ। मैले दुखेको ओठ छाम्दै बिस्तारै कराएँ “बोक्सी!” “आन्टी! म तपाइँकी बुहारी हो र सधैँ म आएसी च्या पकाउन पर्ने?” उसले हाँस्दै किचन बाटै कराइ। “मीठो पकाउँछेस् नि त काली अनि। अलिक टाढाकी भएत बुहारी नै बनाउन हुन्थ्यो नि छिमेकी परिस्।” आमाले खुलेर हाँस्दै बोल्नु भयो। “अलिक राम्रो छोरो पाको भएत छिमेकी नै भएनी बिचार गर्न हुन्थ्यो।” उसले खित्का छोडी।

“धेरै नकरा है झ्याउँकिरी। तँलाइ त हाम्रो घरमा कमारी पनि राख्दिन म।” म च्याँठिएँ। “फेरि झगडा गर्न सुरु नगर त तिमारु।” आमाले कराउनु भो। ऊ केही बोलिन। हाँसिरही।लगभग बिर्सी सकेकी ऊ फेरि देखिएपछि म जोडि हराएको ढुकुर चाहिँ झोक्राउन थालेको छु। सधैँ हाँसी राख्ने अनि जिस्कि राख्ने मलाइ यस्तो देखेर आमा चिन्तित हुनुहुन्छ। “हैन के भयो तँलाइ?” आमा सोध्नुहुन्छ। “केही भएको छैन।” भनेर म टारिदिन्छु। साँझमा पनि म बरण्डामा बसेर एक्लै टोलाइ राखेको छु। आमा आउनुभयो अनि छेउको कुर्सिमा बस्नु भयो। केही बोल्नु भएन। घरिघरी मलाइ पुलुक्क हेर्दै चुपचाप बसिरहनु भयो। लामो मौनतालाइ चिर्दै मैले सानो स्वरमा बोलेँ “संगिते आएकी रैछे।”

“ए! कस्ती भैछे त? धेरै भयो नदेखेको। ब्या गरेसी आएकी छैन याँ। माइत त आउँदी हो।” आमाले लामो सास फेरेर बोल्नुभयो। “कस्ती हुनु? मोटाएकी छे। सुनैसुनले पुरिएकी छे। सुखैसुखमा होलि त!” मैले उराठ लाग्दो बोलि बोलेँं। “सुख त सुखै होला नि। धनी मान्छे भनेर बाउआमाले जबरजस्ती ब्या गर्देका। राम्रो होला र त….!” आमाले एकैसासमा बोल्नुभयो। “जबरजस्ती रे?” म हडबडिएँ। मुटु ढक्क फुल्यो। टाउको चड्किन खोज्यो।

“अनि जबरजस्ती त! त्यसले ब्या गर्दिन भनेर सानो रडाको गरिन रे। ‘बोली दिइ सकेको केटो संग ब्या गर्दिनस् भने म मर्दिन्छु’ भन्दै बाउ चाहिँ डोरि बोकेर हिँडेछन्। अनि गरिनी बिचरिले। हुनत सुखैमा परिछे, राम्रै भएछ। बाउआमाले खोजेको नराम्रो के हुन्थ्यो र…..!” आमा बोलिराख्नु भयो। तर, मेरा कानले आमाका अरु कुरा सुन्न छोडे। आँखा टिलपिल भरिए। पेट दुखे झैँ भयो। म जुरुक्क उठेँ अनि भित्र पस्दै सानो स्वरमा बोलेँ “खुशी नै होलि त पक्कै। त्यो खुशी भएत भैगोनी…..।”

लेखक – सन्तोष बस्नेत 

Topics #कथा #टुक्रा