यो शीर्षक सुनेर तपाईंलाई केही उदेग लाग्नसक्छ । मनमनै प्रश्न गर्नुहोला, ‘किन बच्चालाई यस्तो उपदेश दिने ?’ यो उपदेशको कुरा होइन । व्यवहारको कुरा होइन । प्रवृत्तिको कुरा हो । र, यस किसिमको प्रवृत्ति विकासका लागि बच्चालाई पाठ पढाइरहनुपर्दैन । पट्यारलाग्दो उपदेश दिइरहनु पनि पर्दैन ।

यो सन्दर्भ अहिले किनपनि महत्वपूर्ण छ भने, महिला हिंसाले हाम्रो समाजको तस्विर नै कुरुप बनाउँदैछ । निर्मला पन्तहरुको बलात्कार र हत्याको शृंखला जारी छ । घरेलु हिंसामा उत्तिकै महिलाहरु पेलिएका छन् । सार्वजनिक स्थान, कार्यलयमा माहिलाका लागि ठूलो सुरक्षा चुनौती छ । यस्तो पृष्टभूमीमा हरेक आमा, दिदी, हजुरआमाले आफ्नो परिवारमा हुर्किरहेका छोरा-नातीमा कसरी नारीवादी प्रवृत्ति विकास गर्ने भन्ने कुरामा ध्यान दिनु महत्वपूर्ण छ । भलै यी कुरा कतिलाई सामान्य लाग्न सक्छ । कतिलाई अपाच्य पनि । यद्यपी भोलिको समाज भनेका आजका बालबालिका हुन् । उनीहरुलाई आज नै सही चिन्तन र प्रवृत्तितर्फ मोड्न सकियो भने भोलिका दिनमा छोरीचेलीले दूव्र्यवहार झेल्नुपर्ने छैन ।

लोग्ने मान्छे भएर रुन हुन्छ – हामीकहाँ गीत छ, ‘लोग्नेमान्छे भएर रुनहुन्न रे, मर्दको छोरोले आँशु झार्न हुन्न रे ।’ कुनै छोरो मान्छे वा पुरुष रोएको देखियो भने भनिन्छ, ‘हत्तेरी, छोरी जस्तो रुनु हुँदैन ।’ खासगरी आफ्ना बालबच्चामाथि यस्तो विचार लाद्ने गल्ती नगरौं । छोरालाई पनि उनीहरुको दुःख, उदासी र निराशा जस्तो भावना स्विकार गर्न दिनुपर्छ । साथै त्यसलाई अभिव्यक्त गर्नका लागि प्रोत्साहित गर्नुपर्छ । छोराले आफ्ना दुःख, पीडालाई कुष्ठा बनाएर पाल्न दिनु हुँदैन । यसले गर्दा उनीहरु भित्रभित्रै दबिएर बस्दैनन् ।

भात-भान्साको काममा खटाउने – हाम्रो समाजको पुरातन धारणा के छ भने, छोरीचेलीले घरधन्दाको काम सम्हाल्नुपर्छ । अर्थात भात पकाउने, जुठो भाँडा माझ्ने, कुचो लगाउने, लिपपोत गर्ने, कपडा धुने सबै काम छोरी बुहारीको पेवा जस्तै ठान्ने गरिन्छ । यद्यपी यस्ता काममा आफ्ना छोरा, नातीलाई पनि सहभागी गराउनुपर्छ । उनीहरुलाई भात पकाउन, भाँडावर्तन सफा गर्न, घर सफा गर्न प्रेरित गर्नुपर्छ । चाहे घरायसी किनमेल होस् वा पाहुनापातलाई खाना ख्वाउने, यस्तो काममा पनि छोराहरुलाई अग्रसर गराउनुपर्छ । उनीहरुलाई व्यवहारिक रुपमै छोरा र छोरी बराबरी भन्ने कुरा बुझाउनुपर्छ । यसले उनीहरुमा अहंम एवं दम्भ पैदा हुँदैन । फलत महिला वा नारीलाई हेय दृष्टिले हेर्ने दुषित बानीको विकास हुँदैन ।

छोराछोरी सराबरी – छोरी घरभित्र खेल्छे, छोरा फुटबल खेल्नु । यस्तो सोंच त्याग्नुपर्छ । बच्चाको अगाडि यस्तो व्यवहार नगरौं, जसले उनीहरुलाई आफुमाथि पक्षपात भइरहेको अनुभूत होस् । छोरा होस् वा छोरी दुबैलाई खेलकुद, मनोरञ्जन, घुमफिरमा समान अवसर दिनुपर्छ । साथसाथै केटा र केटी सराबरी सहभागी हुन एवं घुलमिल हुन अभ्यस्त गराउनुपर्छ । यसले गर्दा उनीहरुले नारी वा केटी भनेको फरक हुन् भन्ने गलत धारणाको विकास हुन पाउँदैन ।

सशक्त महिलाको कथा सुनाउने – बालबच्चालाई सुताइरहेको बेला कथा भन्ने गरिन्छ । अक्सर कथाका नायक पुरुष हुन्छन् । हामी पुरुषलाई बढाई-चढाई कथाको नायक बनाउँछौं । यसबाट उनीहरुमा के मनोविज्ञान विकास हुन्छ भने, केटाहरु नै नायक हुन् । केटीहरु निरिह र आश्रति हुन्छन् । त्यसैले यस किसिमको खराब मानसिकता हटाउन उनीहरुलाई नारीको साहसको कथा सुनाउनुपर्छ । कथाको नायक नारीलाई बनाउनुपर्छ । नारीको संघर्ष र सफलताको कथा सुनाउनुपर्छ ।

रंगको कुनै लिंग हुँदैन – अक्सर निलो रंग केटाको र गुलाबी केटीको रंग भन्ने गरिन्छ । खेलौना होस् वा लुगा, स्कुल व्याग होस् वा जुत्ता, बालबच्चाका लागि यी सामग्री खरिद गरिरहँदा रंग अनुसार त्यो छोरा वा छोरीको लागि भनेर भेद गर्छौं । जबकी रंगको कुनै भेद हुँदैन । नीलो रंग छोरीको पनि हुन्छ । पिंक अर्थात गुलाबी रंग छोराको पनि हुन्छ ।