मानिसहरु खुसी प्राप्तिका लागि हर समय हर प्रयत्न गरिरहेका हुन्छन् । खुसीले नै प्राणीमा सकारात्मक सोच र आत्मविश्वास बढाइदिन्छ । यो एउटा शक्ति हो । यसले मनलाई प्रभावित गर्छ र मनभित्र आभास गराइदिन्छ । जसको कारण मानिस लगायत अन्य प्राणीहरु पनि आनन्दित र सन्तुष्टि महसुस गर्छन् । मानिस खुशीको खोजीमा यसरी दौडिरहेको हुन्छ, जसरी मृग कस्तुरीको खोजीमा भौतारिन्छन् । तर त्यो खुशी अन्त कतै नभएर आफूभित्र लुकेर बसेको हुन्छ ।

रामभक्त हनुमानले शायद सञ्जीवनी बुटी चिनेको भए त्यति ठूलो पहाड बोक्नु पर्ने थिएन होला । जुन मानिसले आफूभित्र खुसी पहिचान गर्न सक्दछ त्यही मानिसले मात्र आनन्दको जीवन बिताउन सक्दछ । कतिपय मानिसमा सबैकुराले सम्पन्न हुँदा हुँदै पनि खुसी रहन सक्दैन । त्यसको प्रमुख कारण हो असन्तुष्टि । जबसम्म आत्मसन्तुष्टि मिल्दैन तबसम्म मानिस खुसी रहन सक्दैन । खुसी न मागेर पाइन्छ न त किन्न नै । आफ्नो खुसीको लागि अरुको खुसी खोस्नु हुँदैन न त अधिनमा नै लिनहुन्छ । ्आफूसँग जे उपलब्ध छन् त्यसलाई पूर्णरुपमा स्वीकार गर्न सक्नु पर्दछ अनि मिल्छ खुसी ।

एकपटक एकजना बृद्ध आमा कतैबाट आउँदै हुनुहुन्थ्यो । त्यो बाटोमा तीनजना कामदारहरुले भवन निर्माणको कार्य गर्दै थिए । बृद्ध आमालाई जिज्ञासा भयो र एकजना कामदारलाई सोध्नु भयो–‘तिमी के गर्दैछौ बाबु ?’ ‘यति धेरै ईंटा बोकिरहेछु, तिम्रो आँखा छैन ? कामदारले उल्टो प्रश्न तेस्र्यायो । आमाले सोही प्रश्न दोश्रो कामदारलाई राख्नुभयो दोश्रो कामदारले जवाफ दियो ‘म मेहनतले काम गरेर आफ्नो र परिवारको पेट पाल्दैछु ।’ आमाले फेरि तेश्रो ब्यक्तिलाई पनि तेही प्रश्न दोहोर्याउने हिम्मत राख्नुभयो ।

तेश्रो कामदारले मुसुक्क हाँस्दै आमातिर हेरेर उत्तर दियो–‘म यो शहरमा अग्लो र आकर्षक टावर बनाउँदै छु, यहीँबाट सम्पूर्ण शहर अवलोकन गर्न सकिने छ । यो टावरले हाम्रो शहरको सान बढाउने छ ।’ जवाफ सुनेपछि आमा प्रफुल्ल भएर आफ्नो बाटो लाग्नुभयो । हामी सहजै बुझ्न सक्छौं कि तेश्रो कामदारसँग सकारात्मक बिचार थियो अनि सबभन्दा धेरै खुशी पनि ।

खुसी रहन यी प्रयत्न गर्नुस् सकारात्मक सोच – सधैं सकारात्मक सोच राख्ने, नकारात्मक सोचबाट जोगिन कोशिश गर्ने । स-साना कुरामा खुसीहुने – खुसीको साइज र तौल नहुने हुँदा सानो सानो कुरामा पनि खुसी हुने बानी बसाल्ने । ईष्या र डाहा नगर्ने – अरुप्रती ईष्या र डाहाको भावना नराख्ने । अरुको खुसीमा सरिक हुने । अरुको खुसीमा रमाउनाले पनि आफूलाई सन्तुष्टि र खुसी मिल्न सक्दछ ।

अरुसँग तुलना नगर्ने – आफूलाई कहिले पनि अरुसँग तुलना नगर्ने । अरुको सुखसयल, रहन–सहन र खानपानले आफूलाई हिनताबोध हुन सक्छ । साथै अरुलाई पनि आफूभन्दा सानो र निचहरु देख्दा घमण्ड उत्पन्न गराउँछ । जसले गर्दा आफ्नो व्यक्तित्व पतन हुन्छ । भगवानले सृष्टि गरेको यो सुन्दर संसारमा सबैको समय निश्चित छ । त्यसैले हामी सबै बराबर छौं भन्ने सोचाइको बिकास भयो भने सन्तुष्टि र खुसी मिल्न सक्दछ ।

मनोरञ्जन गर्ने – मानिस सामाजिक प्राणी हो । कहिलेकाही एक्लै हुँदा अनेक कुराहरुले मन पिरोलिन सक्दछ । त्यसबेला संगीतको पनि सहारा लिन सकिन्छ सम्भवत समुहमा बसेर नृत्य, खेलकुद तथा अन्य मनोरन्जन मार्फत पनि एक्लोपनलाई हटाउन सकिन्छ । सञ्चारका माध्यमद्वारा टाढा रहेका साथीहरू र आफन्तहरुसँग कुरा गरेर पनि खुशी रहन सकिन्छ ।

पर्याप्त निन्द्रा – डाक्टरका अनुसार एक ब्यक्तिलाई कमसेकम ७ घण्टा निदाउन आवश्यक पर्दछ । यसले मानसिक र शारीरिक दुबैरुपमा स्वास्थ्य राख्दछ । स्वास्थ शरीरमा स्वच्छ बिचार पैदा हुन्छ त्यो पनि एउटा खुसी कारण हुन सक्दछ । सपना देख्ने बानी – ठूला सपनाहरु देखौं जसले हामीलाई काम गर्ने इच्छा शक्ति बढाउँछ, इच्छा शक्तिले जागरुकता पैदा हुन्छ । जागरुकतामा खुसी लुकेको हुन्छ । घृणा नगरौं – कसैलाई घृणा नगरौं । नराम्रो दृष्टीकोणले अरुलाई हेरिरहँदा मनभित्रका सकारात्मक सोचहरु जलेर नस्ट हुन्छन् । अरुलाई माया र सम्मानको नजरले हेर्दा सन्तुष्टि मिल्दछ । त्यहीँ खुसीका मुनाहरु पलाउन थाल्दछन् ।

मद्दत गरौं – वृद्ध-बृद्धा, असहाय, बालबालिका तथा समस्यामा परेकालाई सक्दो मद्दत गरौं । उनीहरु खुसी हुन्छन् त्यो खुसीमा आफुपनी सहभागी बनौं । यस्तो कार्यले सन्तुष्टि मिल्छ । सत्य बोल्ने – सधै सत्य बोलौं । एउटा झुट लुकाउन सयौं झुट बोल्नु पर्ने हुन्छ । ती झुटहरु मनका अतिरिक्त बोझहरु हुन् । जस्ले असन्तुष्टि पैदा गर्दछन्, सत्य बोलौं त्यहीँ खुसीको बहार आउन थाल्दछ । तनाब – तनाव मानिसको सबभन्दा ठूलो दुश्मन हो । यसले आफूलाई दुःखी त गर्छ नै वरपर रहेका मानिसको खुशी पनि छिनिदिन्छ । तनावसँग खुसी डराउँछ । त्यसैले बेदको एक मन्त्र–जे भयो राम्रो भयो, जे हुँदैछ राम्रो हुँदैछ, आउने दिनमा जे होला सबै राम्रो होला भन्ने कुरा अबलम्बन गर्न सकेमा मन प्रफुल्ल हुन्छ र तनाव हट्छ ।

सन्तुलित र स्वच्छ भोजन – डाक्टरको भनाइ अनुसार स्वच्छ भोजनको सेवनले स्वच्छ बिचार उत्पन्न गराउँछ । स्वच्छ बिचारमा नै खुसीको बास हुन्छ । संगत – नराम्रो संगतले कुमार्गतिर लैजान्छ । राम्रो संगतले सत्मार्गतिर डो¥याउँछ । सत्मार्गले सन्तुष्टि र खुसी दिने काम गर्दछ । अरुले गरेको काममा सन्तुष्टि हुनसके मात्र मनमा सन्तोष मिल्दछ । ध्यान – संभव भएसम्म प्रातकालीनमा केही समय राम्रो कुरामा ध्यान गरौं, ध्यान, प्राणायाम र ब्यायमले मस्तिष्क तथा शारीरिक मजबुत हुन्छ । स्वास्थ्य शरीर र स्वास्थ्य मस्तिष्कमा खुशीको आभास हुन्छ । अन्त्यमा, यस धर्तीमा पाइला राखे पश्चात् मशानघाटसम्मको यात्रामा विभिन्न समस्याहरु उत्पन्न हुनु स्वभाबिक नै हो । समस्याहरूसँग बिचलित नभई सत्कर्म गर्दै जाँऊ ! आफू खुसी रहौं र अरुलाई पनि खुसी राखौं ।