आफ्नो घरभन्दा टाढा गएर अध्ययन वा जागिरको लागि एक्लै भाडामा बस्नु परेमा हामीहरु रुम पार्टनरको खोजी गर्ने गर्दछौं । पैसाको बचत, सुरक्षा र दैनिक घरायसी काममा सहज हुने बाहानामा हामीले खोज्ने रुम पार्टनरसँग हाम्रो मन मिल्न सकेन भने त्यो आफैंमा टाउको दुखाईको विषय हुने गर्दछ ।

विशेषगरी काठमाडौं जस्तो व्यस्त शहरहरुमा त सजिलै कोठा समेत नपाएर पनि रुम पार्टनर खोज्ने गरिन्छ । तर, रुम पार्टनर खोज्दा हतार गरेर वा केही कुरामा ध्यान नदिई एउटै कोठामा बस्दा यसले गम्भीर समस्या समेत सिर्जना गराउँछ । अफिस होस् या त क्याम्पसबाट फर्किँदा शरीरले शान्त वातावरणमा आराम आवश्यकता महसुस गर्दछ । तर, यही समयमा रुम पार्टनरसँग झगडा गरेर समय खर्च गर्नु पर्‍यो भने त्यसले मानसिक रुपमा समेत गम्भीर समस्या निम्त्याउने सम्भावना हुन्छ । त्यसैले रुम पार्टनर खोज्दा केही कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ । रुम पार्टनरको खोजी गर्दा नै केही विषयमा ध्यान दिने हो भने यसले पछि कुनैपनि समस्याबिना नै हाम्रो दिनचर्या चल्नसक्छ । त्यसको लागि तल केही टिप्सहरु दिईएको छ ।

लापरबाहीबाट बचौं : रुम पार्टनरहरुको बीचमा दैनिक खाना पकाउने र अन्य घरायसी कामको विषयमा धेरै विवाद हुने गर्छ । एकले अर्को को बीचमा आफूले ज्यादा काम गरेको भनेर धेरै विवाद गर्ने गरेको पाईन्छ । यस्तो विवाद मात्रै होइन साथीको वा आफ्नो लापरवाही पनि कहिलेकाहीँ भारी पर्ने गरेको छ । जस्तो कि बाहिर जाने समयमा ताला नलगाउनु, ग्यास या लाईट समयमा बन्द नगरिदिनु, फोनमा राती अबेरसम्म कुरा गरिरहनु आदि लापरवाहपूर्ण व्यवहारले पनि रुपमेटसँग झगडा हुने गर्दछ । त्यसैले रुममेट छान्ने बेलामा नै मान्छेको व्यवहार हेरेर छान्नुपर्छ । बरु केही समय लागोस् ।

रुममेट छान्दा स्वाद र व्यवहार हेरेर छानौं : कुनै समय रुममेटसँग खानाको स्वादकोलागि पनि विवाद वा झगडा हुने गर्दछ । दुईबीच खानाको रोजाई भिन्न-भिन्न हुुनेभयो भने खाना पकाउने बेलामा कसको स्वाद अनुसारको खाना पकाउने ? भन्ने बारेमा विवाद हुने गर्छ । त्यसैले कुनैपनि रुममेट छान्दा व्यवहार र स्वाद आफूसँग मिल्दो जुल्दो खालको छान्नु पर्दछ । जसका कारण कोठामा शान्ति पनि हुन्छ । मनमा शान्ति हुँदा यसले दुबै रुम पार्टनरको व्यक्तिगत र व्यवसायिक जीवनमा समेत सकारात्मक प्रभाव पार्दछ ।

सँगै पढ्ने साथीलाई चुनौं रुममेट : रुममेट चुन्दा सबैभन्दा सजिलो सँगै पढ्ने साथीलाई छान्नुपर्दछ । सँगै पढ्ने साथीको सबै किसिमको व्यवहारहरु जानेको हुने भएकोले विवाद र असमझदारी कम हुने गर्छ । सबै व्यवहारहरु बुझेको व्यक्तिलाई छान्दा मात्रै उसको स्वभाव अनुसारको व्यवहार हुने गर्छ । जसले असमझदारीलाई धेरै हदसम्म कम गराउन मद्दत गर्छ ।

चित्त नबुझेको कुरा स्पष्ट भनौं : कतिपय कुराहरु चित्त नबुझेको कुरालाई मनमा लुकाएर राख्दा पनि विवाद र असमझदारी बढ्ने गर्दछ । यो कुरा जीवनसाथी छान्ने बेलामा होस् या त डेराको साथी खोज्ने बेलामा पनि लागू गर्नुपर्छ । त्यसैले कामको विषयमा, खानाको विषयमा या अरु जुनसुकै विषयमा पनि आफूलाई चित्त नबुझेको कुराहरु स्पष्टसँग भन्नुपर्छ । त्यो भयो भने मात्रै सम्बन्ध लामो समयसम्म अघि बढ्न सक्छ । यसका अलावा यस्ता व्यवहारहरु रुम पार्टनरको अघि कहिलै पनि नगरौं – कोठामा चुरोट वा मदिरा सेवन नगरौं – आफ्ना निकटस्थ साथीहरुको आउजाउ धेरै नगराऔं – रुममेट भन्दा भिन्न साथीहरुसँग पार्टीको आयोजना नगरौं – रुममेटलाई मन नपर्ने काम आवश्यकताभन्दा अरु समयमा नगरौं ।