विवाहलाई बन्धन पनि भनिन्छ । यो प्रेमको बन्धन हो । मर्यादाको बन्धन हो । भरोसाको बन्धन हो । विश्वासको बन्धन हो । सद्भावको बन्धन हो । तर, सबै दम्पतीबीच यस्तो बन्धन कसिलो हुँदैन । रसिलो हुँदैन ।

उनीहरुको सम्बन्धमा अविश्वास, असहयोग, आशंकाले जब प्रवेश पाउँछ, त्यो खुकुलो र कमजोर हुँदै जान्छ । र, यस्तो सम्बन्धमा दाम्पत्य सुख प्राप्त हुँदैन । कलहले ठाउँ पाउँछ । जब दाम्पत्य सम्बन्धमा अविश्वास, आशंका भित्रभित्रै प्रवेश गर्छ, तब उनीहरुको जीवन कष्टकर हुन्छ । पारिवारिक तालमेल मिल्दैन । स्वयम् ति दम्पती मात्र होइन, बालबच्चा र परिवारका सदस्यालाई नै यसले पिरोल्न थाल्छ । त्यसैले यस्तो सम्बन्ध त्यती भरपर्दो र दीगो हुँदैन । दम्पतीबीचको सम्बन्ध कस्तो छ भन्ने कुरा उनीहरुको प्रवृत्ति र व्यवहारबाट थाहा पाउन सकिन्छ ।

एकअर्काप्रति भरोसा छैन : सम्बन्धको पहिलो सर्त प्रेम र भरोसा नै हो । जब आपसमा प्रेम छैन, तब सम्बन्धको कुनै अर्थ रहन्न । यस्तो सम्बन्ध फिका हुन्छ । रंगहिन हुन्छ । यसमा कुनै मिठास हुन्न । यस्तो सम्बन्ध लामो समय टिक्दैन । जति समय रहन्छ, त्यती समय कष्टकर हुन्छ । सम्बन्धलाई कसिलो बनाउने डोरी भनेको भरोसा नै हो । भरोसा भनेको एउटाले अर्कोलाई बराबर गरेको हुनुपर्छ । भरोसा गर्नका लागि दुबै भरपर्दो र विश्वसनिय हुनुपर्छ । भरोसाको डोरीलाई जति बलियो बनायो, उत्तिनै सम्बन्ध कसिलो हुन्छ । रसिलो हुन्छ ।

एकजनाले योजना बनाइरहँदा अर्कोले बेवास्ता गर्छ : जब एक पुरुष र एक महिला आपसमा एकाकार हुन्छन्, तब उनीहरुले पारिवारिक जीवनमा प्रवेश गर्छन् । पारिवारिक जीवन विताउनका लागि माया र प्रेमले मात्र पुग्दैन, व्यवहारिक सहकार्यको पनि आवश्यक्ता पर्छ । यस्तो अवस्थामा दुबैले उत्तिकै सहभागितामा साथ पारिवारिक योजना बनाउनुपर्छ । अतः योजना पुरा गर्नका लागि दुबैको उत्तिकै सक्रियता आवश्यक हुन्छ । तर, जब एकजना पारिवारिक योजना बनाउँन थाल्छन्, अर्कोले बेवास्ता गर्छन् । एउटाले घर-परिवार कसरी अगाडि बढाउने, कसरी खर्च व्यवस्थापन गर्ने, कसरी आम्दानीको स्रोत बढाउने भनेर सोचिरहँदा अर्कोले त्यसमा कतिपनि साथ दिदैन भने यस्तो सम्बन्धको कुनै अर्थ रहँदैन ।

दुबैले एकअर्काको साथमा आनन्द अनुभव गर्दैन : तपाईं आफ्ना श्रीमान् वा श्रीमतीसँग हुँदा कति आनन्द अनुभूत गर्नुहुन्छ ? उनीहरुको उपस्थिती तपाईंलाई रमाइलो लाग्छ कि झर्कोलाग्दो ? खासमा दम्पतीबीच सामिप्य र संवाद आवश्यक छ । दुबै नजिक हुनुपर्छ । दुबैले अन्र्तसंवाद गरिरहनुपर्छ । त्यती मात्र होइन, आफ्नो पार्टनरको उपस्थिती पि्रय लाग्नुपर्छ । जब आफ्नो पार्टनरको साथमा हुन्छौ, तब सुरक्षाको अनुभूति पनि हुनुपर्छ । तर, तपाईंको पार्टनर वा तपाईं आफ्ना पार्टनरसँग रहँदा त्यती खुसी रहनुहुन्न, आनन्दित रहनुहुन्न भने तपाईंको सम्बन्ध कतिपनि रसिलो छैन । यस्तो सम्बन्ध कुनैपनि बेला धरापमा पर्न सक्छ ।

आफ्नो पार्टनर छाडेर अर्कै व्यक्तिको कल्पनामा डुब्नुभएको छ : हामीकहाँ दम्पतीलाई जीवनसाथी भनेर सम्बोधन गरिन्छ । अर्थात जीवनभरका साथी । सँगै बाँच्ने र सँगै मर्ने कसम खाएर कतिपयले जोडी बाँधेका हुन्छन् । मर्न त बाध्यकारी छैन, तर बाँचुञ्जेल दुबैले एकअर्काको हात र साथ दिनुपर्छ । तपाईले आफ्नो पार्टनरलाई नै जीवनभरको साथी ठान्नुपर्छ । यद्यपी तपाईं आफ्नो पार्टनर होइन, अरु कसैको कल्पनामा रमाउनुहुन्छ । अरु कोही पार्टनरको उपस्थितीको कल्पना गर्नुहुन्छ भने तपाईं धोकेबाज हुनुहुन्छ । तपाईंले अरुको विश्वासमाथि घात गरिरहनुभएको छ । यस्तो सम्बन्ध सधै रहँदैन ।

तपाईंहरु एकअर्कामा अपरिचित जस्तै हुनुहुन्छ : जब तपाईंहरु आपसमा श्रीमान्-श्रीमतीको सम्बन्धमा बाँधिनुहुन्छ, तब तपाईंहरुबीच धेरै कुरा गोप्य रहँदैन । गोप्य नरहेकै तपाईंहरुलाई राम्रो र रमाइलो पनि लाग्छ । भनिन्छ नि, शेयरिङ र केयरिङ हुनुपर्छ । हरेक कुरामा तपाईंहरु एकढिक्का हुनुपर्छ । दुबैबाट कुनैपनि कुरा लुक्नु वा लुकाइनु हुँदैन । यसबाट तपाईंहरु आपसमा दुई शरीर भएपनि एउटै व्यक्ति जस्तै बन्नुहुनेछ । तर, जब तपाईंहरु नामले मात्र श्रीमान्-श्रीमती रहनुहुन्छ, तब तपाईंहरुको सम्बन्ध बलियो रहँदैन । दुबैबीच अपरिचित जस्तै व्यवहार र प्रवृत्ति भएमा त्यस्तो सम्बन्ध कसिलो र रसिलो हुँदैन ।