सविना एउटा राम्रो कम्पनीमा उच्च पदमा छिन् । उनको कमाइ पनि राम्रो छ । उनका श्रीमान् सुभाष घर बसेर घरायसी काम सबै हेर्छन् । जसरी अरूका श्रीमतीहरू घरको काम सम्हाल्छन् त्यसरी नै उनी आफ्नो घर सम्हाल्छन् । बिहान उठेपछि श्रीमतीका लागि नास्ता, खाना तयार पार्ने, पहिरन सफा पार्नेदेखि भाँडा माझने, बालबच्चालाई स्कूलका लागि तयार पार्ने, बसस्टपसम्म पुर्‍याउने, बजार गई सागसब्जी खरिद गर्नेजस्ता सबै काम उनैले भ्याउँछन् । श्रीमान्ले यसरी घर सम्हालिदिएपछि सविनालाई धेरै सजिलो भएको छ उनी ढुक्कले काममा लाग्न पाएकी छन् । घरपरिवारको सारा खर्च भने उनैले बेहोर्नुपर्छ । यसरी हेर्दा उनीहरूको जोडी कतिपय चलचित्रमा देखाइएजस्तो काल्पनिक पनि लाग्नसक्छ तर वास्तविकतामै उनीहरू सफल एवं सुखी जीवन व्यतीत गरिरहेका छन् । केवल भूमिका फेरिएको छ । यही एउटा उदाहरण नै हिजोआज महिलाहरूको बदलिँदो भूमिका दर्शाउन पर्याप्त छ । यो हाम्रो परम्परागत सामाजिक व्यवस्थाअनुसार अमिल्दो देखिनुका साथै पुरुषसत्ताका लागि चुनौती पनि हो तर समाजमा यस्ता उदाहरणहरू बढ्दो क्रममा छन् । यसरी बदलिएको भूमिकाका कारण समानतामूलक समाज निर्माणको बाटो कोरिँदै पनि छ ।

के घरको काम गर्नु कमजोरी हो ? : हाम्रो समाजमा अझैसम्म पनि घरको कामलाई काम मानिदैन तसर्थ महिलालाई कमजोर मानेर घरको काममा लगाउने तथा पुरुष कमाइ गर्न घरबाहिरको काममा लाग्ने परम्परा छ । यद्यपि यो परम्परा सर्वथा गलत छ । घरको काम बाहिरी कामभन्दा कुनै पनि हिसाबले सजिलो छैन र घरको काम गरेर बस्नु कमजोरीको संकेत पनि होइन । फिटनेस एक्सपर्टहरूका अनुसार पनि अफिसमा आठ घन्टा कुर्सीमा बसेर काम गर्नुभन्दा घरको काममा बढी मेहेनत पर्छ र बढी क्यालोरी खर्च हुन्छ । त्यसकारण उनीहरू कुर्सीमा बसेर काम गर्नेहरूलाई हरेक आधा घन्टाको अन्तरालमा केही बेर उठेर यताउति टहल्ने सल्लाह दिन्छन् । घरको भान्सामा काम गर्नु, सरसफाइका काम बढारकुडार-पुछपाछ गर्नु, कपडा धुनु आदिजस्ता काम एकप्रकारले सम्पूर्ण व्यायाम नै हुने गर्छ । यसकारण घरको काम गर्नु कमजोरी नभै तागतको प्रतीक हो ।

केटाहरूले घरको काम सिक्नु आवश्यक छ ? : केटाहरूलाई पतिको पदवी मिलिसकेपछि जीवन सहज होस् भन्ने अभिप्रायले घरको काम पनि सिकाइराख्न जरुरी छ । घरायसी काममा पोख्त केटाहरूले नै आगामी दिनमा असल पतिको भूमिका निर्वाह गर्न सक्छन् अन्यथा उनीहरूको दाम्पत्य जीवन समेत धरापमा पर्न बेर लाग्दैन । केटालाई समयमै घरको काम सिकाइएको खण्डमा भावी दिनमा ऊ पत्नीको करियर तथा व्यक्तित्व निर्माणमा सच्चा सहयोगी सावित हुनसक्छ ।

यस्तो परिवर्तन आवश्यक हो त ? : संस्कारजन्य सोचमा परिवर्तन हुनु आवश्यक छ । यो काम पुरुषको, यो काम महिलाको भनेर अघोषित रूपले तोकिएका संकारजन्य वा परम्परागत सोचलाई निरन्तरता दिनु आधुनिक युगसापेक्ष हुन सक्दैन । सानैदेखि सिकाउने र प्रेरणा दिन हो भने कुनै पनि त्यस्तो काम छैन जुन पुरुषले सक्ने महिलाले नसक्ने होस् । वर्तमान समयमा कार्यक्षेत्रमा विद्यमान सीमारेखा क्रमशः उल्लंघन भइरहेका छन् । कमाइ हुने क्षेत्रमा पुरुष तथा घरको कामकाजमा महिला खटिने परम्परागत सोचमा बिस्तारै खिया लाग्दै छ । आधुनिक व्यस्त जीवनशैलीमा अभ्यस्त महिलाहरू घरअफिस दुवैतर्फको जिम्मेवारी उत्कृष्ट ढंगले निर्वाह गरिरहेका छन् भने जागरुक पुरुषहरू पनि अर्धांगिनीको सहयोगका लागि घरायसी कामकाज सघाउन थालेका छन् । महिलाहरू यो कुरालाई खुसीसाथ किन पनि स्वीकार गर्छन् भने सदियौंदेखि आफूले गरिआएको चुल्होचौकाको कामबाट छुटकारा मिलेको छ । अब उनीहरू पनि पतिको हातको खाना चाख्न पाएका छन् जुन लैंगिक समानतातर्फ अघि बढेको महत्वपूर्ण कदम हो ।

समान हिस्सेदारी निर्वाह गर्नु कमजोर हुनु होइन : केही वर्षअघिसम्म पनि कुनै पुरुषले घरको काममा पत्नीलाई सहयोग गरेको देखिए समाजमा उसले जोइटिङ्ग्रेको उपाधि पाउँथ्यो, उसको गिल्ला हुन्थ्यो, उसलाई कमजोर ठानिन्थ्यो । उसको पुरुषत्वमाथि नै शंका गरिन्थ्यो । हिजोआज परिस्थिति परिवर्तन भएको छ । घरायसी काममा सहयोग गर्ने पुरुष सच्चा जीवनसाथीका रूपमा चिनिन्छ । घर चलाउनु महिलापुरुष दुवैको जिम्मेवारीभित्र पर्ने कुरा भएकाले यो अत्यन्त उचित पनि छ किनभने यसमा घरप्रति दुवैको जिम्मेवारी एवं हिस्सेदारी बराबर हुने गर्छ । वास्तवमा पहिले महिलालाई दबाइराख्न र आफूअनुकूल प्रयोग गर्न सहज होस् भन्ने अभिप्रायले पुरुषप्रधान समाजले महिलालाई घरको सीमाबाहिर निस्कने अनुमति दिँदैनथ्यो । यो एक प्रकारको चालबाजी नै थियो ।