अक्सर बच्चाहरु पढ्ने, लेख्ने कुरामा त्यती खुसी हुँदैनन् । पढ्नु वा लेख्नु भनेको अभिभावकका लागि हो, शिक्षकको लागि हो भन्ने उनीहरुको बुझाई हुन्छ । पढियो, लेखियो भने गाली खाइँदैन भन्ने लाग्छ । त्यही कारण उनीहरु पढ्छन्, लेख्छन् । जब विद्यालय विदा हुन्छ, उनीहरु खुसी हुन्छन् । फुरुङ्ग हुन्छन् । किन बच्चाहरु पढ्न रहर गर्दैनन् ? किन बच्चाहरु लेख्न रुची गर्दैनन् ? मेहनत गर्नु, श्रम गर्नु गाह्रो काम हो । पढ्ने-लेख्ने काम खेलकुदभन्दा अलि भिन्न हो । हुन त बच्चालाई खेलकुदको माध्यामबाट पनि पढाउन सकिन्छ । त्यस्ता विधि एवं पद्दती प्रचलनमा पनि आइसकेको छ । तर, कतिपय कुराहरु उनीहरुलाई अक्षरमार्फत सिकाउनुपर्छ । पढ्न लगाएर, लेख्न लगाएर सिकाउनुपर्छ ।

किन पढ्न मन गर्दैनन् ? – आफुले गरिरहेको मेहनत, श्रमको खास अर्थ बुझिरहेका हुँदैनन् बच्चाहरुले । यो केवल कक्षा कोठामा समय कटाउने, शिक्षकको आज्ञा पालना गर्ने, अभिभावकलाई खुसी बनाउने भन्ने मात्र बुझिरहेका हुन्छन् । अर्थात उनीहरु स्वतस्फूर्त पढाइमा लाग्दैनन् । किन पढ्ने भन्ने प्रश्नको रेडिमेड जवाफ त उनीहरुलाई रटाइएको हुन्छ, तर त्यो कुरालाई बुझ्ने उनीहरुसँग सामथ्र्य हुँदैन । पढाइको महत्व र अर्थबारे उनीहरु बेखबर हुन्छन् । यस्तो अवस्थामा उनीहरुलाई आफ्नो पढाई, लेखाई निरर्थक एवं व्यर्थ लाग्छ । हामीलाई पनि व्यर्थ लागेको काम गर्न जाँगर चल्दैन । ठिक उसैगरी बच्चालाई पढ्न लेख्न जाँगर नचलेको हो ।

अर्को कुरा चाहि के भने, सबै बच्चाहरुको क्षमता एकनास हुँदैन । शिक्षकले पढाएको कुरालाई सबैले एकनास बुझ्दैनन् । कति बच्चाले चाडै बुझ्छन्, कतिले ढिलो । जब सहपाठी आफुभन्दा जान्ने छ भन्ने लाग्छ, तब बच्चाहरु हतोत्साही हुनपुग्छन् । उनीहरुमा प्रतिस्पर्धाको भावना जाग्ने भन्दा पनि हिनताबोध जाग्ने संभावना बढी हुन्छ । त्यही हिन भावनाले पनि बच्चाहरुलाई पढाइमा जाँगर चल्दैन । पढ्न मन नलाग्नु एक रोग – वास्तवमा बच्चाहरुले पढ्नलेख्न मन गर्दैन भने, त्यो शारीरिक समस्या पनि हुनसक्छ । कुनै कुरा सिक्ने वा पढ्ने कुरामा बच्चा कमजोर छ भने उनमा डिस्लेक्सिया रोग हुनसक्छ । यो यस्तो रोग हो, जसमा पढ्न, लेख्न र शब्द बोल्न मुस्किल हुन्छ । यस रोगले ग्रस्त बच्चाले बोलेको कुरा र लेखेको शब्द सही ढंगले स्मरण गर्न सक्दैनन् ।

के हो त डिस्लेक्यिा ? – डिस्लेक्सिया रोग तीन किसिमको हुन्छ । पहिलो अर्थात प्राथमिक डिस्लेक्सियामा बच्चाले अक्षर र संख्या पहिरना गर्नु, पढ्नु, मापन गर्नु, समय देख्नु र अन्य गतिविधि गर्न सक्दैनन् । दोस्रो चरणको समस्या भ्रुणमै बच्चाको दिमागको विकास सही ढंगले नभएर हुन्छ । यस्तोमा शब्द पहिचान गर्न र बोल्नमा समस्या हुन्छ । तेस्रो ट्रामा डिस्लेक्यिाको समस्यामा बच्चको दिमागमा चोट लागेको कारण हुनसक्छ । यस्तो अवस्थामा बच्चाले शब्दको ध्वानी सुन्न सक्दैनन् । यसैले उनीहरु शब्द बोल्न र पढ्न लेख्नमा कठिन हुन्छ ।

कसरी थाहा पाउने ? – यो विकार ३ देखि १५ बर्षको उमेरका करिब ३ प्रतिशत बच्चामा पाइएको छ । अर्थात जब बच्चा स्कुल जान सुरु गर्छ, तब उनीहरुमा यसको लक्षण देखिन्छ । किनभने यसअघि उनीहरुमा यस्तो समस्या छ, छैन भनेर थाहा पाउन सकिदैन । – यस समस्याबाट ग्रस्त बच्चाले शब्दलाई पहिचान गर्न सक्दैनन् । वा पहिचान गर्नमा दिक्क लाग्छ । सही ढंगले उच्चारण गर्न सक्दैनन् । – उनीहरुलाई पढ्न, सम्झन वा कुनै कुरा याद गर्न कठिन हुन्छ । – उनीहरु उस्तै प्रकृतिको अक्षरमा कन्फ्युज हुन्छन् । – उनीहरु बिस्तारै पढ्छन् । र, अरु बच्चा पढ्न थालेपछि उनीहरु हडबढाउँछन् । – यस रोगले ग्रस्त बच्चाहरु शब्द र अक्षरलाई उल्टो वा गलत पढ्छ । – ७ बर्षको उमेरअघि अक्षरलाई उल्टो लेख्छन् ।

अब के गर्ने त ? – यस किमिसको समस्या भएका बच्चाहरुले कुनैपनि कुरालाई लामो समयमा मात्र स्मरण गर्न सक्छन् । यदि यस्तो समस्या छ भने बच्चालाई जबरजस्ती पढाउने होइन । बरु पढाउने शैली बदल्नुपर्छ । उनीहरुलाई पढाउनका लागि पेन्टिङ वा कथाको सहारा लिनुपर्छ ।