सानोठिमीको मगरगाउँ आसपासको कच्ची सडकमा ढल निर्माणको लागि ठूल-ठूलो खाल्डो खनिएको थियो । ठाउँ-ठाउँमा माटोको थुप्रो थियो । ह्युम पाइपको थुप्रो थियो । ईटाको थुप्रो थियो । यो त्यही बाटो हो, जहाँबाट थुप्रै दृष्टिविहिनहरु दिनहुँ आउजाउ गर्छन् । उनीहरुको बासस्थान त्यही आसपासमा छ । कोही त्यहाँको सानोठिमी क्याम्पस पढ्छन् । कोही त्यहीबाट धाएर विश्वभाषा, आरआर क्याम्पस पढ्छन् । बाटोमा पानी परेर जताततै हिलाम्मे थियो । खाल्डाखुल्डीमा पानी जमेको थियो । यस्तो बाटोमा सद्दे व्यक्तिलाईसमेत हिँड्न गाह्रो थियो । त्यसमाथि दृष्टिविहिनलाई हिँड्न कति कष्टकर भयो होला ?

विकास निर्माणको कुरा आफैमा सकारात्मक हो । तर, यस्ता संरचनाहरु तयार गर्ने क्रममा सामान्य हेक्का राखिदैन कि, त्यस बाटोबाट अशक्त, अपाङ्ग व्यक्तिहरु पनि हिँड्नुपर्छ । उनीहरु हिँड्दा हिँड्दै लडेर थप चोटपटक लाग्न सक्छ । खाल्डोमा फस्न सक्छ । बानेश्वरको फराकिलो बाटोको दुवैतिरको फुटपाथमा ब्रेल मार्ग छ । तर, तपाई अहिले पनि गएर त्यहाँको दृश्य नियाल्नु भयो भने, त्यो पार्किङ लट जस्तै लाग्न सक्छ । ब्रेल लिपी, जसलाई सेतो छडीको साहाराले औल्याउँदै दृष्टिविहिनहरु हिँडडुल गर्छन् । त्यही बाटोमा मोटरसाइकल, कार पार्किङ गरिएको भेटिन्छ । आफुलाई शिक्षित, सभ्य, सक्षम भन्नेहरुलाई कतिसम्म हेक्का छैन भने, यहाँ अशक्त व्यक्तिहरु पनि हिँड्छन् वा हिँड्नुपर्छ । उनीहरुलाई आफ्नै गाडीले बाधा पुर्‍याउन सक्छ ।

तपाई सार्वजनिक यातायातमा चढ्नुहोस्, महिला, अशक्त, जेष्ठ नागरिक सिट अरु सक्षम, जवान यात्रुले ओगटेको देखिन्छ । जब गाडीमा कुनै अशक्त, बुढाबुढी चढ्छन्, उनीहरुका लागि सिट छाडिदिने कष्ट गर्दैनन् । उदेगलाग्दो त के भने, यस्ता सिट कलेज पढ्ने विद्यार्थीहरुले ओगटेर बसिरहेका देखिन्छ । अर्को कुरा के भने, यसरी सार्वजनिक गाडीमा आरक्षित सीट सीमित छ/हुन्छ । जबकी महिला, गर्भवती, रोगी, बालबालिका, बृद्धबृद्धा, अशक्त-अपाङ्ग यात्रीहरु त्यो भन्दा बढी हुन्छ । भलै, आरक्षित सिट उनीहरुलाई छाडिदिए पनि बाँकी सिट सामान्य यात्रुले ओगट्छन् । आरक्षित सिटको व्यवस्था गर्दा कम्तीमा बुढाबुढी, रोगी, गर्भवती, बालबालिका, अशक्तहरुलाई प्राथमिकतामा दिएर अन्य सिट पनि छाड्नुपर्ने व्यवस्था गरिनुपर्ने होइन र ? यदि अन्य सिट अशक्त, रोगी, बुढाबुढी, महिलाहरुका लागि छाडिदिनु पर्ने भयो भने जेन्टलमेनहरु भन्छन्, ‘यो त पुरुष सिट हो नि ? हामी महिला वा जेष्ठ नागरिक सिटमा बसेका छौं र ?’

यसो गरे कसो होला ? : हामी देख्न सक्छौं । हामी हिँड्न सक्छौं । हामी उभिन सक्छौं । त्यसो भए आफुभन्दा कमजोर व्यक्तिलाई किन सहयोग नगर्ने ? कमजोर हामी पनि हुन्छौं । हाम्रा आफन्तहरु पनि अशक्त होलान् । त्यस्तो अवस्थामा कसैले हामीलाई सहयोग गरिदिए हामी कति कृतज्ञ हुन्छौं ? कुनै दृष्टिविहिनलाई हिँड्न गाह्रो भएको छ भने डोहोर्‍याउन सक्छौं । कुनै बुढाबुढीले जेब्रा क्रसमा बाटो काट्न सकिरहेका छैन भने उनीहरुलाई पनि हामी सहयोग गर्न सक्छौं । कुनै गर्भवतीलाई सार्वजनिक यातायातमा सिट मिलाइदिन सक्छौं । कुनै बच्चालाई भिडभाडमा सुरक्षित ढंगले हिँड्ने वातावरण मिलाइदिन सक्छौं । यसरी एकअर्कासँग हातेमालो गरेर, सरसहयोग आदनप्रदान गरेर बाँच्नु पो सार्थक हुन्छ त ।

बालबालिकामा सहयोगको भावना बिकास गरौं : अहिलेका बच्चाहरु स्मार्ट छन् । उनीहरुले विभिन्न माध्यामबाट धेरै कुरा सिकेका छन् । अतः उनीहरुलाई यो कुरा पनि सिकाऔं कि, असाहय, कमजोर, अशक्त व्यक्तिहरुलाई सधै सहयोग गरौं । उनीहरुमा सहयोगको भावना विकास गरिदिनुपर्छ । भोलिको समाज भनेको उनीहरुले नै निर्माण गर्ने हो । त्यसैले आज नै उनीहरुलाई सहयोग आदनप्रदान गर्न सिकाउनुपर्छ । बच्चाहरुलाई जस्तो सिकायो, त्यस्तै हुन्छन् । उनीहरुलाई सहयोग गर्न प्रेरित गरियो भने उनीहरुमा त्यस्तो बानीको विकास हुन्छ ।

सहयोग गर्दा के हुन्छ ? : हाम्रो सानो सहयोगले अरुको जीवन सहज हुन्छ । अरुको अनुहारमा खुसी ल्याउन सकिन्छ । यसले हामीलाई पनि सन्तुष्टि प्राप्त हुन्छ । वास्तवमा सहयोग गर्ने, गराउने कुरालाई संस्कारकै रुपमा विकास गर्नुपर्छ । यस्तो संस्कारले हाम्रो जीवनलाई सहज मात्र बनाउने होइन, सुमधुर पनि बनाउँछ ।